
जेठ ३, २०७७ डडेल्धुरा : लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ। सीमावर्ती भारतीय क्वारेन्टाइनबाट शुक्रबार गौरीफन्टा नाका हुँदै तीन सय ८१ नेपालीको उद्धार गरिएको हो। उद्धारपछि उनीहरुलाई धनगढीकै विभिन्न क्वारेन्टाइनमा राखिएको छ।
क्वारेन्टाइनमा राखिएकालाई सम्बन्धित स्थानीय तहमा पठाउने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्। उनका अनुसार उद्धार गरिएका तीन सय ८१ जनामा सबैभन्दा बढी कैलालीका एक सय एक जना रहेका छन्। यसैगरी कञ्चनपुरका ३९, बैतडीका २२, डडेल्धुराका १९, बझाङका १२, बाग्लुङका १०, सुर्खेतका ८, डोटीका ७, दाङ र बाजुराका ४/४, दैलेख र कास्कीका २/२, काठमाडौँ, रौतहट, महोत्तरी, सिन्धुली र अछाम जिल्लाका १/१ जनाको उद्धार गरिएको जनाइएको छ।
अहिलेसम्म तीन सय ८१ जनामध्ये दुई सय ३५ जनाको मात्रै ‘इन्ट्री’ भएको छ भने बाँकी एक सय ४६ जनाको ‘इन्ट्री’ गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। यस्तै, लकडाउनका कारण यहाँ अलपत्र परेका चार सयभन्दा बढी भारतीय नागरिक उतै फर्किएका छन्। सीमामै र्यापिड टेस्ट गौरीफन्टा नाकाबाट तीन सय ८१ नेपालीको उद्धार गरिएकोमा तीन सय २४ जनाको र्यापिड टेस्ट गरिएको छ। कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले र्यापिड टेस्ट गर्दा कसैमा पनि ‘एन्टिबडी’ नदेखाएको बताए। उनका अनुसार बाँकी सबैको पिसीआर परीक्षणका लागि ‘थ्रोट स्वाब’को नमुना संकलन गरिएको छ। भारतको महाराष्ट्रलगायत बढी संक्रमण रहेको क्षेत्रबाट फर्किएका नेपालीको स्वाब संकलन गरिएको भण्डारीले जानकारी दिए। भारतमा क्वारेन्टाइन अवधि पूरा नगरेकाहरुको समेत स्वाब संकलन गरिएको छ। भण्डारीका अनुसार धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण हुनेछ।