
मकाक प्रजातिका ६ वटा बाँदरमा गरिएको परीक्षणमा सकारात्मक नतिजा आएको वैज्ञानिकहरूको दाबी छ।
लन्डन। वैज्ञानिकहरूले मकाक प्रजातिका बाँदरमा गरिएको एक खोप परीक्षणमा कोभिड-१९ विरुद्धको लडाईंमा सफलता मिल्ने आशा गरेका छन्।
उक्त प्रजातिका ६ वटा बाँदरमा गरिएको परीक्षणमा सकारात्मक नतिजा आएको वैज्ञानिकहरूको दाबी छ।
मानिसमा पनि क्लिनिकल परीक्षण गर्ने तयारीमा रहेका वैज्ञानिकहरू सकारात्मक परिणामको आशामा देखिन्छन्।
पहिले बाँदरको एक समूहलाई सार्स-कोभ-२ को संक्रमण गराइयो। अनि लगत्तै खोप दिइयो। त्यसरी खोप दिइएका बाँदरको फोक्सो र श्वासनलीमा भाइरसको मात्रा कम पाइएको छ।
बीबीसीका अनुसार यो परीक्षण अमेरिकामा गरिएको हो। र, यसमा अमेरिकी सरकारको नेसनल इन्स्टिच्युट अफ हेल्थ तथा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डका वैज्ञानिकहरू सहभागी छन्।
उक्त खोपले निमोनियाबाट जनावरलाई बचाउन पनि सहयोग पुग्ने वैज्ञानिकहरूको भनाइ छ। बाँदरको ‘रेसस मकाक’ प्रजाति र मानिसको रोग प्रतिरोधात्मक प्रणाली एकै प्रकारको हुन्छ।
यो अध्ययनलाई अन्य वैज्ञानिकहरूबाट समीक्षा गराइएको छैन। तर, लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक स्टेफन इभान्सले ‘उच्च गुणस्तर’ र ‘धेरै उत्साहवर्द्धक’ समाचारका रूपमा अर्थ्याएका छन्।
अक्सफोर्ड युनिभर्सिटीमार्फत एक सय जनाभन्दा बढी स्वयंसेवकमा खोपको परीक्षण भइरहेको छ। र, एक सयभन्दा बढी कोरोना भाइरस परीक्षण खोप विकास गरिएको छ।